मुसहर बस्तीमा चियाको चुस्की लगाउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार जीतपुरसिमरा उपमहानगरपालिका–६ स्थित मुसहर बस्ती पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेका थिए । पूर्व राजपरिवारभित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा मुसहर बस्ती पुगेका हुन् । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए । बस्तीमा एक घण्टा बिताएका उनीहरुले चियासमेत पिएका थिए ।

पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए । सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन समेत गरिएको थियो । पूर्वराजाले दिवा भोजनका लागि बनाइएको परिकार बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेको दृष्य देखिएको थियो ।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे । चुहिएको घरमा कष्टकर जीवन बिताइरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त बस्तीमा २० वटा घर छ । सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका मुसहर समुदायले घर पाएपछि सोही बस्तीमा बस्दै आएका छन् । यसअघि पूर्वराजा गढीमाई मन्दिरमा पुगेर दर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर