काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने गिरोह पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनहरा नगरपालिका–५ स्थित भरत थापाको दुई तल्ले पक्की घरमा नक्कली मदिरा बनाउने ठाउँ फेला पारेको हो ।

थापाको घर भाडामा लिई विनोदकुमार कार्कीले नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिङ्गनेचर, ३६५ ब्ल्याकलगायतका मदिरा बनाउने गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता मिलन केसीले यसमा संलग्न नौ जनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनीष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौं घर भएका सुमन नगरकोटी छन् ।
काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो ।

सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिराजन्य पदार्थ, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तःशुल्कको स्टिकरहरू, लेवलिङ एवम् प्याकेजिङ गर्न प्रयोग गरिने सामानलगायत अन्य विभिन्न सामग्री फेला पारेको प्रवक्ता केसीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर