रास्वपाको राजनीतिक लाइनबारे उठ्ने प्रश्नको अन्त्य : प्रमुख सचेतक परियार

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपाको राजनीतिक लाइनबारे उठ्ने प्रश्नको अन्त्य भएको बताएका छन् ।

भक्तपुरमा बुधबार संगठनमा एक रूपता ल्याउन, संगठनको सबलीकरण गर्न, संगठनमा सिर्जना भएको असहज परिस्थितिलाई सहजीकरण र सबै संगठनकर्मीलाई पुनर्ताजगी प्रदान गर्न आयोजना गरिएको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले रास्वपाको राजनीतिक लाइन महोत्तरीको जलेश्वर बैठकको निर्णयबाट स्पष्ट भएको बताए । परियारले भने, “भक्तपुर जिल्लामा जुनसुकै पार्टी भए पनि अबको प्रमुख प्रतिपक्ष पार्टीको रूपमा रास्वपा नै देखिएको छ । २००७ सालदेखि नेपालमा जुनखालका परिवर्तनको सुरुवात भयो त्यसलाई दृष्टिगत गर्दै ०८४ मा रास्वपा प्रमुख दलमा स्थापित हुनेछ ।”

हरेक पार्टीको नीति तथा कार्यक्रम राम्रो हुने गरेता पनि त्यसलाई व्यवहारमा लागू गर्ने असल परिपाटी नदेखिँदा जनस्तरमा एक प्रकारको निराशा तथा आक्रोश देखिएको चर्चा गर्दै परियारले रास्वपाले आफ्नो नीति तथा कार्यक्रमलाई जस्ताको तस्तै लागू गर्दै आएकाले छोटो समयमा रास्वपा राष्ट्रिय पार्टी भएको उल्लेख गरे । परियारले राम्रोलाई राम्रो र नराम्रोलाई विरोध गर्दै रास्वपा समुन्नत समाज निर्माणतर्फ अग्रसर रहेको पनि बताए ।

उनले पार्टीको केन्द्रबाट प्रशिक्षण कार्यक्रमहरू तय गर्ने तयारी भइरहेको बेला भक्तपुरमा बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्नुले अन्यत्र पनि यसले प्रशिक्षण कार्यक्रमलाई तालिकाबद्ध गर्न सघाउ पुग्ने बताए । बुधबार एक दिन सञ्चालन हुने उक्त प्रशिक्षणमा रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. सुन्दरसिंह बोहोराले प्रशिक्षर्थीहरूलाई दीक्षित गर्नेछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर