महाबौद्ध क्षेत्रबाट दुई ‘हुण्डी डन’ समातिए

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको महाबौद्ध क्षेत्रमा हुण्डी कारोबार गर्दै आएका दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १३ लाख ७५ हजार रुपैयाँ नगद र ७ लाख ९७ हजार रुपैयाँबराबरको १७ थान बैंक चेक बरामद भएको छ ।

काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई प्रहरीले गत बिहीबार बेलुकी नै पक्राउ गरेको थियो । अनुसन्धान प्रयोजनका लागि उनीहरू पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो ।

गौतमद्वयले काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो ।

भीमसेनको साथबाट नगद ८ लाख रुपैयाँ , राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रुपैयाँ र ७ लाख ९७ हजार रुपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर