‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज योग दिवस मनाइँदै

काठमाडौं । योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।

योग गुरु डाक्टर हरिप्रसाद पोख्रेलका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । योगको महत्त्वबारे सबै नेपालीलाई थाहा दिने उद्देश्यले नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाइँदैछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।

परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरुकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर