राजसंस्था फर्काउन चार दललाई बाध्य पार्छौं : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन आन्दोलन थाल्ने घोषणा गरेका छन्। ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष लिङ्देनले गण्तन्त्रवादी प्रमुख चार दलका शीर्ष नेताहरूलाई मञ्चमा राखेर कोर्स करेक्सनका लागि बाध्य पार्ने दाबीसमेत गरे ।
“यो असामान्य स्थितिमा ठूला दलहरूले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपर्छ’, उनले भने, ‘तर दलहरु एकपछि अर्को देश हितविपरीतका काममा लागे। अब राप्रपाले जनदबाव बढाउन नेतृत्व गर्नु परेको छ। मलाई विश्वास छ, हामीले दलहरूलाई कोर्स करेक्सन गर्न बाध्य बनाउँछौँ।’ हामीले पछाडि फर्किने कुरा गरेका होइनौँ, पुरानो व्यवस्थामा जाने भनेको होइन’, उनले भने, ‘यही व्यवस्थाले पनि देश नधान्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्‍यो, नयाँ व्यवस्थामा जानुपर्छ।’

राप्रपाले राम्रो काम ग र्‍यो : ओली

चियापान कार्यक्रममा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताए । उनले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताए। उनले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवादसमेत दिए। उनले भने, ‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ। यो राम्रो काम गर्नुभएको छ।’

पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने : लामिछाने

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताए । उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए।
उनले भने, ‘त्यतिबेलाको बाइसे, चौबीसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतीलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन। राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन। सबैको साझा बनाउने काममा लाग्नुपर्छ। राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर