ललितपुर महानगर र पाटन अस्पतालबीच स्वास्थ्य बीमा सहकार्य

ललितपुर । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ ।

ललितपुर महानगरमा बुधबार आयोजित कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारी पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. पारसकुमार आचार्य र महानगर प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य क्षेत्र महानगरको प्राथमिकतामा रहेको जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रममार्फत बिमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गर्ने र स्वास्थ्य क्षेत्रमा विशेष पहिचान बनाएको पाटन अस्पतालसँग सहकार्य गर्न पाउँदा ज्यादै खुसी भएको नगर प्रमुखको भनाइ थियो ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. आचार्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई योग्य ठानेर मौका दिएकोमा धन्यवाद दिए । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मुलुकै जेठो नगरपालिका ललितपुर महानगरले पाटन अस्पताल जस्तो विशेष छवि बनाएको संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।

ललितपुर महानगरले महानगरको १०५ औँ स्थापना दिवस पुस २ गते अपाङ्गता भएका दुई व्यक्तिलाई बीमा कार्ड प्रदान गरेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । महानगरले वडाबाट बिमितहरुको तथ्याङ्क सङ्कलन गर्न दर्ता सहयोगी छनोट गरिसकेको छ । बीमा कार्यक्रम आउँदो फागुन १ गतेदेखि लागू हुनेछ । समझदारी पत्रमा उल्लेख भएअनुसार विशेषज्ञ चिकित्सकसहितको बहिरङ्ग सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, रेडियोलोजी, एम्बुलेन्स सेवा पाटन अस्पतालले उपलब्ध गराउने छ ।

स्वास्थ्य बीमाअन्तर्गतको दाबी भुक्तानीको विवरण हरहिसाब तोकिएबमोजिमको ढाँचामा राख्ने तथा स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुनेछ । यो समझदारीको अवधि १० वर्षसम्म रहेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर