नवनिर्वाचित सांसद डा. वाग्लेलाई प्रमाणपत्र प्रदान

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयले तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न शुभकामना दिए । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई शान्तिपूर्ण वातावरण स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका थिए । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत र राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल अर्गनाइजेसनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका थिए । ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर