अन्ततः नेकपा एसले दुई स्थान पाएपछि राष्ट्रियसभा सिटको बाँडफाँट अन्त्य

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा माओवादी केन्द्र, दुई वटा नेकपा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताए । उनले भने, ‘‘राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रूपले उम्मेदवारी दिने विषय टुङ्गो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, २ वटा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ ।’’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुङ्गो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताए । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर