बरहथवामा निषेधाज्ञाको अवधि थप, मृतकको शव घटनास्थलमै

काठमाडौं । सर्लाहीको बरहथवामा आज शनिबार पनि निषेधाज्ञा आदेश जारी भएको छ । निषेधाज्ञा हिजो शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि जारी गरिएको थियो । विरोधप्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोधप्रदर्शनमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो । दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निजको मृत्युको कारण आफूलाई थाहा नभएको तथा आफूले सुरक्षाकर्मीलाई गोली प्रहार गर्ने आदेश नदिएको दावी गरेका छन् ।

यसैबीच सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोली लागेर स्थानीय जयशङ्कर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएका घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कांग्रेसले मृतकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । उक्त पार्टीले घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नाका साथै घाइते भएकाको उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज विषयमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर