यौन दुर्व्यवहार गर्ने डाक्टरविरुद्ध अदालतमा उजुरी

काठमाडौं । स्वास्थ्य परीक्षणका क्रममा यौन दुर्व्यवहार गरेको भन्दै चिकित्सक जसवन शाक्यविरुद्ध अदालतमा उजुरी दर्ता भएको छ। ग्रान्डी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा डा. शाक्यले विना अनुमति संवेदनशील अङ्ग हेरेको भन्दै एक युवतीले काठमाडौं जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

बालिगमाथि यौन दुर्व्यवहार भएको हकमा सिधै अदालतमा उजुरी दिनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार पीडितले काठमाडौं जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

उजुरीमा असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा जानेक्रममा यौन दुर्व्यवहार गरेको उल्लेख छ। डायग्नोस्टिक कक्षमा महिलाको संवेदनशील अङ्गसम्बन्धी परीक्षण गर्नुपर्ने भएकाले महिला नर्स वा अन्य सहायक कर्मचारी उपस्थित गराउन गरेको अनुरोध बेवास्ता गरेको उजुरी पत्रमा उल्लेख छ। डा. शाक्यको व्यवहार असहज लागेपछि उनलाई त्यसबारेमा जानकारी गराउँदा समेत वास्ता नगरी भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ। उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ।

शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ। शाक्यविरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परे पनि काउन्सिलले कुनै निर्णय गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर