काठमाडौं–तराई–मधेश द्रुत मार्गको प्रगति सुस्त

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश द्रुत मार्गको प्रगति सुस्त छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको असोज मसान्तसम्मको भौतिक प्रगति २९ दशमलव १४ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

काठमाडौं–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाको मोविलाइजेसन सहित वित्तीय प्रगति भने २९।३२ प्रतिशत छ । उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बरसम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

त्यस्तै, द्रुत मार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्याकेज नम्बर ८ क, ९ क र ९ खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८ क, ९ क र ९ खको २०८०, भदौ १३ गते बोलपत्र खोलुवा भई मूल्याङ्कन भइरहेको जनाइएको छ । त्यसैगरी, द्रुत मार्गको मख्खुबेंसी तथा मकवानपुरको भीमफेदीस्थित महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० भदौ १ गते बोलपत्र आह्वान भएको छ । आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात् खरिद प्रक्रिया सुरु गर्नेगरी तयारी अवस्थामा रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

हालसम्म निर्माणाधीन तीन वटा सुरूङ्गमार्गहरूको जम्मा लम्बाइ ६.४१५ किलोमिटरमध्ये ३०५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । अर्थात् ४७.५५ प्रतिशत सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । जसअनुसार सुरुङ मार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङकोजम्मा लम्बाई ३३५५ मिटरमध्ये हालसम्म १४७० मिटर, प्याकेज नं. २ अन्तर्गत धेद्रे सुरुङ मार्गको जम्मा लम्बाइ १६३० मिटरमध्ये हालसम्म ७६५ मिटर र प्याकेज नं. ३ अन्तर्गत लेनडाँडा सुरुङको जम्मा लम्बाई १,४३० मिटरमध्ये हालसम्म ८१५ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरूमध्ये प्याकेज नं. १ देखि ७ सम्मका ६२ वटा पुल निर्माणाधीन अवस्थामा छ । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका ६२ वटा पुलहरूको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरूमध्ये १ हजार १ सय २० वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म ३ वटा पुलको सुपरस्ट्रक्चरको कार्य समेत सम्पन्न भएको छ ।

आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी छ । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।

यस्तै, कटान गरिएका रूखको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ६५ हजार ५ सय ३८ बिरुवा रोपिएको छ । स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबमोजिम कटान गर्नुपर्ने ३८ हजार ६ सय ६४ वटा रूखमध्ये हालसम्म २८ हजार ६ सय ४६ वटा रूख कटान भएको र बाँकी १० हजार १८ वटा रूख कटान गर्ने प्रक्रियामा रहेको प्रवक्ता भण्डारीले जानकारी दिए । प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर