‘म कतै अन्त गएको छैन, सदासदा नेपालीको साथमा छु, नेपालभित्रै छु’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा खिया लाग्दै गइरहेको र नेपाललाई छड्के आँखाले हेर्ने प्रवृत्ति बढेको बताएका छन् । देश बनाउनका लागि सबै एकै ठाउँमा उभिएर मिल्नुपर्ने उनको भनाइ थियो ।

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा शाहले बिहीबार भैरहवामा आयोजित कार्यक्रममा देश झन् परनिर्भर र जर्जर बन्दै गएको बताएका हुन् । ‘सबैले हेप्ने, छड्के आँखाले हेर्ने र आफूहरू अपमानित बन्दै गएको स्वाभिमानी नेपाली जनताको अनुभूति छ,’ उनले भने, ‘हाम्रा बूढापाकाको विचार भन्नुपर्दा राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गइरहेको छ, हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौं ।’

पूर्वराजा शाहले आफू जता पुग्दा पनि देश बनाऔं र बचाऔं भन्ने आवाज सुनिरहेको बताए । ‘आज यहाँ उभिएर भन्दछु, म बोलिरहेको छु– देश बनोस्, बचोस् भन्ने पुख्यौली इच्छा आकांक्षा पोखिरहेको छु ।’

पूर्वराजा शाहले आफूले जनताका दुःख–पीडालाई नियालिरहेको बताए । ‘म कतै अन्त गएको छैन, सदासदा नेपालीको साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख दुःख, असुविधा, बाधा, पीडा तथा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको छु,’ उनले भने ।

बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले युवा जनशक्ति विदेशिनु परेको अवस्थाले देश जर्जर भएको पूर्वराजा शाहले चिन्ता व्यक्त गरे । ‘देशको माया नभएर होइन अवस्था बिग्रेर, आक्रोश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ । देशमै उद्यम, इलमको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पारिरहने आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्दछ ।’

पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर