अयोध्यास्थित राम मन्दिरको उचाइ १६१ फिट रहने

काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् । तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ ।

मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ । मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ ।

मन्दिरका स्तम्भ तथा पर्खालहरू देवी देवताहरूको मूर्तिहरू सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि लिफ्टलगायतकोे व्यवस्था गरिएको छ ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएको छ । उत्तरमा माता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानको मन्दिर रहनेछ । उक्त मन्दिरको प्राण प्रतिष्ठा पुण्य समारोह गही जनवरी २२ तारिखका दिन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर