जाउलाखेलस्थित ललितमण्डपको पुनर्निर्माण गरिने

ललितपुर ।  विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका-४ जाउलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्चा) र जाउलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ ।

ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । उनले भने, “हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको हो । हामीले राणाकालअघिको फोटो भेट्टाएका छौँ । इतिहास झल्कने गरी ललितमण्डप पुनःनिर्माण हुनेछ ।”

हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथ ललितमण्डप परिसरमै राखिन्छ । सोही परिसरबाटै मछिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन भएकाले पनि ललितमण्डपको महत्व विशेष भएको उनको भनाइ छ । हाल जाउलाखेलमै मछिन्द्रनाथ सङ्गहालयसमेत निर्माण हुँदैछ । जुन सङ्ग्रहालयमा मछिन्द्रनाथको ऐतिहासिक सामग्री सङ्ग्रहित गरिनेछ ।

ऐतिहासिक सम्पदासम्बन्धी जानकारी ज्यापु समाजसँग रहेकाले सोही समाजसँगको सल्लाहमा ललितमण्डपलाई कलात्मकरूपमा पुनःनिर्माण गरिने वडाध्यक्ष खड्काको भनाइ छ । उनले भने, “पुनःनिर्माणको विषयमा नगरप्रमुखसँग कुरा भएको छ । उहाँले निर्माणका लागि चासो देखाउनुभएको छ । ज्यापु समाजसँग छलफलपछि ललितमण्डप निर्माण हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर