औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरुको जोड

ललितपुर ।  चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले मङ्गलबार आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो ।

काठमाडौैं विश्वविद्यालय स्कुल अफ साइन्स, फार्मेसी विभागका प्राडा पन्ना थापाले मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठीक हुने प्रमाणित भए बिरामीमा प्रयोगका लागि सिफारिस गरिने भएकाले बिरामीले पनि औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसार कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिएको हो ।

“बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरुको जोड छ । मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठीक हुने प्रमाणित भएको अवस्थामा बिरामीलाई प्रयोग गर्न सिफारिस गर्ने गरिन्छ, धेरैजसो देशले औषधिका रुपमा प्रयोग गर्नपाउनुपर्छ भनेर पैरवी गरेका छन् तर हामीले २० वर्षभन्दा मुनिका लागि भने प्रयोगमा अनुमति दिनुहुँदैन”, उनले भनिन् ।

प्राडा थापाले गाँजा विशेष किसिमको वनस्पति भएको र नेपालमा अहिलेसम्म तीन प्रकारको गाँजा पाइने उल्लेख गर्दै चीनबाट सुरु भएको गाँजाको प्रयोग अहिले निद्रा नलाग्दा र एन्जाइटीमा प्रयोग गर्न सकिने धारणा व्यक्त गरिन् । उनले शक्तिशाली देशले गरिब देशलाई कमजोर बनाएर राख्ने रणनीतिअनुरुप औषधीय गुणलाई बेवास्ता गर्दै गाँजालाई बन्देज गरिएको छ भनिन् ।

नेपालकै इतिहासमा पनि विसं १९७३ भन्दाअगाडि यसलाई औषधीयरुपमा प्रयोग गरेको पाइन्छ भन्दै डा. थापाले गाँजाको टुप्पोदेखि जरासम्म सबै उपयोगमा आउने र यसलाई राम्रोसँग नियमन गर्न सके आर्थिक उपार्जनको माध्यम बन्नसक्ने जानकारी गराइन् । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले गाँजाको प्रयोगसम्बन्धी तीन सय वर्षको इतिहास भेटिने उल्लेख गर्दै गार्मेन्ट र टेक्सटाइलमा पनि कच्चा पदर्थका रुपमा प्रयोग गर्न सकिने देखिएको जानकारी गराए ।

“गुल्मीको कफीलाई जापानसँग लिङ्क गरेपछि सहज भएजस्तै गाँजालाई पनि औषधीय गुणसँग जोडेर अन्तर्राष्ट्रियकरण गरिनुपर्छ । आयातित प्रवृत्तिले हाम्रा गर्विलो इतिहासलाई मेटाउँदै छौँ, विगतका शासन प्रणालीमा भएको कमजोरीले हाम्रो मौलिकतालाई गुमाउँदै छौंँ”, डा. पौडेलले भने, “गाँजालाई धूमपानका रुपमा प्रयोग गर्ने पद्धतिलाई मात्रै बन्देज गर्न सकेको भए हुन्थ्यो, अन्तर्राष्ट्रिय प्रभावका कारण औषधीयरुपमा पनि प्रयोग गर्न बन्देज गरेर हामीले सबै अवसरलाई गुमायौँ । बन्देज गर्नेगरी बनेका र भएका कानुनलाई १६ औँ आवधिक योजनामा परिमार्जन गर्न पहल गर्नेछु ।”

नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाले गाँजा उत्पादन, उपभोग, प्रशोधन र बजारीकरणको विषय पेचिलो बनेको र नीति निर्माण तहमा विवादास्पद विषय बनेको धारणा व्यक्त गरे । उनले सबै पक्षलाई केलाएर वैज्ञानिक, सामाजिक र मानवीय पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नीति र कानुन निर्माणमा ठोस सहयोग पुगोस् भन्ने धारणा व्यक्त गर्दै उनले सरकारमा लाभदायक देखिने गरी प्रतिवेदन पेस गर्न सकिने अपेक्षा गरे ।

गाँजासम्बन्धी नीति–नियमबारे चर्चा गर्दै बौद्धिक सम्पत्ति केन्द्र नेपालका कार्यकारी निर्देशक अधिवक्ता राजकुमार सुवालले मनीप्लान्टको सट्टामा घरको कोठाभित्र गाँजा रोप्न सक्यौँ भने हावामा कार्बनडाइअक्साइडलाई शुद्धीकरण गर्न सकिने धारणा व्यक्त गरे । उनले कानुनीरुपमा बन्देज गरिएका देशमा मेडिकल क्षेत्रमा एक वर्षमा पनि चार सयभन्दा बढी बिरामीलाई गाँजा प्रयोगका लागि सिफारिस भएको पाइएको धारणा व्यक्त गरे ।

गाँजासम्बन्धी भएका अनुसन्धान र हालसम्मको उपलब्धिबारे प्रस्तुतिकरण गर्दै नास्टका वैज्ञानिक डा. सजनलाल स्याउलाले कुन खालको गाँजा कुन उपचारमा उपयोगी हुन्छ भन्ने कुरा अनुसन्धान गर्न आवश्यक छ भने । कुन औषधिमा के प्रयोजनका लागि गाँजा प्रयोग हुन्छ भन्ने अनुसन्धान पनि आवश्यक भएको धारणा व्यक्त गर्दै उनले यसको प्रयोगलाई व्यवस्थित गर्न र दुरुपयोगलाई निरुत्साहित गर्न कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिएर नीति–निर्माण गर्नुपर्नेमा जोड दिए ।

हेम्प उद्योगका प्रबन्ध निर्देशक गणेश ऐडीले गाँजासम्बन्धी आर्थिक पक्षबारे चर्चा गर्दै अहिलेसम्म ऐन–नियममा भएका छिद्रलाई टेकेर काम गर्नुपर्ने बाध्यता छ भने । नेपालको ५२ जिल्लामा यसको खेती गर्न सकिने उल्लेख गर्दै उनले यसबाट ४० लाख किलो रेसा र २० लाख किलो दाना उत्पादन गर्न सकिए पनि हाल चार लाख ५० किलोमात्रै रेसा र दाना उपलब्ध हुने गरेको बताए । गाँजा क्षेत्रमा कार्यरत अनुसन्धानकर्मी, संघसंस्था, मन्त्रालय सबैलाई एकै थलोमा ल्याई, गाँजासम्बन्धी नेपालमा भइरहेको कार्यक्रमबारे जानकारी गराउने उद्देश्यका साथ आयोजित विज्ञान संवादमा विभिन्न क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर