प्रिमियर लिगमा लिभरपुललाई ३ अंकको अग्रता

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले तीन अंकको स्पष्ट अग्रता लिएको छ । सोमबार भएको खेलमा न्युकासललाई ४-२ गोलले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई ३ अंकले पछाडि छाडेको हो ।

घरेलु मैदानमा उत्रिएको लिभरपुलका लागि मोहमम्द सलाहले २ तथा कुर्तिस जोन्स र कोडी गाक्पोले एक एक गोल गरे । सलाहले खेलका सुरुवातमा प्राप्त पेनाल्टी भने सदुपयोग गर्न सकेका थिएनन् । २२ औँ मिनेटमा सलाह उक्त अवसरमा चुकेका थिए । तर ४९ औँ मिनेटमा लिभरपुलले सलाहकै गोलमा अग्रता लियो । ५४ औँ मिनैटमा न्युकासलले खेल बराबरीमा त ल्यायो तर लामो समय टिक्न सकेन ।

७४ औँ मिनेटमा जोन्स र त्यसको चार मिनेटपछि गाक्पोले गोल गरेपछि घरेलु टोली ३-१ गोलले अगाडी बढेको थियो । ८१ औँ मिनेटमा न्युकासलले गोल फर्काउँदै पुनरागमनको प्रयास गर्‍यो । तर ८६ औँ मिनेटमा सलाहले गोल थप्दै भ्रमणकारी टोलीको उक्त प्रयास जटिल बनाइदिएका थिए । २० खेलपछि लिभरपुलको ४५ अंक छ। समान खेल खेलेको एस्टन भिल्लाको ४२ अंक छ। १९ खेलबाट ४० अंक भएको म्यानचेस्टर सिटी तेस्रोमा छ । प्रिमियर लिगको यो सिजन सलाह सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा उक्लिएका छन् । उनले १४ गोल र ८ असिस्ट गरेका छन् । दोस्रो स्थानमा रहेका म्यान सिटीका हालान्डको नाममा १४ गोल र ४ असिस्ट रहेको छ। हालान्ड अहिले चोटका कारण मैदान बाहिर छन् । उनले प्रिमियर लिगका पछिल्ला चारसहित क्लबले खेलेका ७ खेल चोटका कारण गुमाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर