प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्‍याउने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरेका हुन् ।
उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबीसमेत गरे । उनले भने, ‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भयो त्यो दुःखद् घटना हो ।’

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे । उनले राष्ट्रियसभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर