अर्थमन्त्रीको भनाइमा नेपाल प्रशस्त अवसरको भण्डार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि नबढाउने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’

अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्‍यौं। अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ, उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुपर्दैन, भविष्य सुनिश्चित रहेको उनले बताए । कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएका बताउँदै भने, ‘यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको छ । उनीहरुको संरक्षणमा सरकार कटिबद्ध छ ।’

उनले अगाडि भने, ‘देशभरिकै विभिन्न स्थानबाट बसाइँसराइ गरेर चितवनमा बसोबास गर्नुभएका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा खेल्नुभएको छ । यो ठाउँमा पहिला पनि विकासको आधार सिर्जना भएकै हो । ०४६ पछि चितवनले विकासको फड्को मारेको छ । तर यसैमा खुशी हुने अवस्था नरहेको र हाम्रा आवश्यकताहरु परिवर्तित हुँदैछन् । सँगसँगै महत्वाकाँक्षामा वृद्धि हुँदैछ । परिवर्तित संसारसँगसँगै यहाँको पनि परिवर्तन र आर्थिक आकांक्षाअनुरूप हामीले डेलिभरी दिनुपर्ने भएको छ ।’

डा. महतले भने, “अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक हुँदैछन् । अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको छ । आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ । शेयर बजार उकालो लागेको छ, घरजग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेस व्यापारको लागत कम गर्नेछ। नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकारात्मक डिसकोर्षको आवश्यकता छ । यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकारात्मक भाष्य त्यागेर सकारात्मकतर्फ लाग्नुपर्छ । तथ्यांकले अर्थतन्त्र सकरात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको छ ।”

उनले भने, “नेपालको जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउँछ । अवसर यही छ, युवाले सूष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यही छ । पूर्व–पश्चिम राजमार्ग अब ६ लेनको बन्दैछ । यसले यातायात लागत कम गर्ने र पर्यटनलाई सहयोग गर्नेछ । हेटौंडासम्मको फास्ट ट्रयाक बनिसकेपछि काठमाडौंबाट डेढ घन्टामै पूर्वी चितवन आइपुगिने छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर