जब लोकतन्त्रका संवाहकहरूको मनमा ढाङ्ग्रो ठोक्न थाल्यो….।

काठमाडौं । आज लोकतन्त्र दिवस । २०६२–०६३ मा जनताले गरेको उत्कर्ष बलिदान र आन्दोलनको उपज हो लोकतन्त्र । लोकतन्त्रको परिभाषा केलाउने हो भने राजाविनाको मुलुकमा शासन चलाउने तन्त्र नै लोकतन्त्र हो । मुलुकको विकास गर्न सबैभन्दा पहिले राजनीतिक प्रणालीको सुनिश्चितता हुनुपर्ने निक्र्यौलका साथ सुरु गरिएको आन्दोलनले ठोस आकार ग्रहण गरेपछि लोकतन्त्रान्त्रिक व्यवस्था हामीले अंगीकार गरेका हौं । जनताको संघर्षले मूत्र्तरूप लिँदा हर्ष, बढाइँका साथ खुशी पनि मनायौँ । तर त्यसपछिका दिनमा लोकतन्त्र स्वयंमा टुहुरा बनेको चारैतर्फ महसुस हुन थालेको छ ।

लोकतन्त्रका वाहक वर्तमान सत्तारूढ माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै मात्र दिएको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने प्रधानमन्त्री स्वयं लोकतन्त्रप्रति विश्वस्त हुन सकेको अनुभूति पाउन सकेको छैन । उनको भनाइमा परिवर्तनप्रति चारैतिरबाट आक्रमण भएकाले लोकतन्त्रका संवाहकहरू एकैठाउँमा जुट्नुपर्ने बेला आएको छ ।

कुनैपनि राजनीतिक प्रणालीलाई चिरस्थायी र जनप्रिय बनाउने हो भने त्यस राजनीतिक प्रणालीले अंगालेका आर्थिक सिद्धान्तलाई व्यवहारतः सघाउन र टिकाउन विकासका द्वारहरूको उजागर गर्नु हो । परन्तु, लोकतन्त्रका संवाहकहरूले आर्थिक विकासका सम्भाव्य द्वार त के निर्वाचन र दलगत भागवण्डामा अत्यधिक काल बिताउँनाले आज लोकतन्त्रको अस्तित्वमाथि प्रश्न उठ्न थालेको हो । यो लोकतन्त्रप्रतिको नकारात्मक प्रश्न केवल एकांकी नभएर मननयोग्य छ । किनभने कुनै पनि राजनीतिक प्रणाली र त्यसलाई सञ्चालन गर्ने संवाहकहरू जनउत्तरदायी हुनु पर्दछ । जनउत्तरदायी राजनीतिक प्रणाली नै सर्वोकृष्ट र सर्वोपरी हुने गर्दछ ।

आजका लोकतन्त्रका संवाहकहरूको फोहरी राजनीतिक अभ्यासका कारण मुलुकको लोकतन्त्र धरमराएको छ । लोकतन्त्र धरमराएको अवस्था विगतको एक–दुई निर्वाचनको परिणामले स्पष्ट दिशा निर्देश गरिसकेको छ । निर्वाचनको परिणाम र त्यसले उत्पन्न गरेको परिस्थितिलाई बुझेर पनि नबुझेको जस्तो गर्नु लोकतन्त्रप्रतिको अपमान हो ।

हामी लोकतन्त्रका संवाहक हौं, हाम्रो मात्र ठेकेदारी कायम हुनुपर्छ भन्ने गलत मान्यताले आज संवाहकहरूको मनमा ढाङ्ग्रो ठोक्न थालेको छ । लोकतन्त्र स्थापना गर्न पु¥याएको योगदानको जपमाला चिरकाल पर्यन्त रहँदैन् र रहने पनि छैन । रहेको पनि छैन । किनकि प्रकृति स्वयंमा परिवर्तनशील हुन्छ भने एकल राजनीतिक प्रणाली त गौण हुन् ।

वास्तवमा भन्नुपर्दा जनताको महान् त्याग र तपस्यामार्फत स्थापना भएको लोकतन्त्रलाई घात प¥याउने घाती तथाकथित लोकतन्त्रका संवाहकहरू नै हुन् भन्नुपर्दा अतिशयोक्ति नहोला । बहस खुला हुनुपर्छ । बहस गर्ने आँट पनि हुनुपर्छ । आज लोकतन्त्रका संवाहकका प्रतिमूर्तिहरू सार्वजनिक स्थानमा प्रकट हुँदा उनीहरूको सामाजिक तह, तप्का कस्तो छ भनेर यहाँ चित्रण गरिरहनु पर्दैन । तिनीहरूले मान ग्रहण गर्ने अवसर पायो कि घृणा पाए भन्ने विषय घाम जत्तिकै छर्लंग छ ।

पटक–पटकको जनताको चेतावनीलाई वे–वास्ता गरेर पुरातनी, परिवारवादी सोचलाई नै अगाडि सार्ने लोकतन्त्रका संवाहकहरू भोलि सडकमा जतिसुकै चिच्याए पनि त्यतिबेला कुनै औषधिले काम गर्नेवाला छैन । इतिहास क्रूर रहन्छ । इतिहासको त्यो क्रूर पञ्जामा पिल्सिएको दुर्दान्त उदाहरण थुप्रै छन् ।
लोकतन्त्रले सुधर्ने मौका पनि दिन्छ । समयमा नै सच्चिने र विगतका गल्ती नगर्ने हो भने लोकतन्त्र जीवनबुटी पनि हो । यस्तो सरल, सहज र उदार अवस्थालाई आत्मसात् गर्ने कि नगर्ने बल लोकतन्त्रका संवाहकहरूको कोर्टमा छ । लोकतन्त्रमाथि आक्रमण हुन थाल्यो भनेर मै खाउँ मै लाउँ भन्ने पाखण्डी धारणा पालेर हिँड्ने हो भने अवश्य पनि एक दिन जनताको आक्रोशको शिकार बन्नुपर्ने हुन्छ । यो चेतनाको विकास समयमै भए राम्रो । नत्र भने बालेन साह, हर्क साम्पङ र रवि लामिछानेहरू जस्ता जनताले जन्माइसकेका छन् ।

यथार्थमा भन्ने हो भने उनीहरू अझै लोकतन्त्रप्रति वफादार छन् कि छैनन् भन्ने परीक्षण हुन बाँकी नै छ । तथापि, उनीहरूको वर्तमान चरित्र सुधारवादीको रूपमा देखिएको छ । दुःखको कुरा लोकतन्त्रका संवाहकहरू सुध्रिने त के सुधर्नु प¥यो भनेर सुझाव दिनेहरूलाई पनि कट्टर दुष्मन मान्न थालेका छन् । किनकि तिनीहरूलाई सत्ताको व्यामोह चढेको छ । समय अति बलवान् छ । समयले कसलाई कहाँ पु¥याउँछ भन्न सकिन्न ।

लोकतन्त्र दिवसको सार्थकतालाई जन–जनमा पु¥याउने हो भने आफूहरूलाई संवाहक भन्न रूचाउनेहरू नसच्चिकन उपाय नै छैन । सच्चिएमा स्थायी, नसच्चिएमा भविष्यको परिणाम पर्खिएर बस्नुबाहेकको विकल्प छैन ।
 (रफतन्युज डटकमका लागि उज्ज्वल झा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर