सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं ।  सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्।

न्याय परिषदको आज बिहान बसेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो। कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारीसमेत तोकिएको न्यायपरिषद सचिवालयले जनाएको छ।

कुँवरले यसअघि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए। उनलाई हाल कायम उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी प्रस्ताव गरेपछि सहमत भएका हुन्।

न्याय परिषदको सिफारिसअनुसार प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्ति दिनेछन्। उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा गर्ने निर्णय पनि परिषदले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर