बजेटको सीमा संकुचन गर्ने तयारीमा अर्थमन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले समय तालिकासहितको बजेट निर्माण गर्ने योजना बनाएको छ । आव २०८० र ८१ को बजेट निर्माणका लागि नयाँ कार्यतालिका अनुसार आगामी वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गरिने छ । चैत २१ गतेदेखि राजस्व परामर्श समितिले दिएका सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार हुनेछ ।

चैत २६ गतेदेखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छलफल कार्यक्रम राखिएको छ । चैत २६ गतेदेखि नै वैशाख २५ गतेसम्म सरोकारवालासँग बजेट सुझाव सङ्कलन गर्ने समय तोकिएको छ । वैशाख २० गते सार्वजनिक संस्थानको प्रगति विवरण अर्थात् पहेँलो किताब प्रकाशनमा लागि पे्रसमा पठाउने योजना छ । वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने वैशाख २५ गते संसद्का दुवै सदनमा पेस गर्ने मन्त्रालयको कार्यतालिका छ ।

मन्त्रालयका अनुसार वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइका लागि पठाइनेछ । जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार हुनेछ । जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस हुनेछ । जेठ १० गते राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । जेठ १० गते नै खर्च र व्यय शीर्षकको अनुमानको किताब छपाइ हुनेछ । जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने काम हुनेछ ।

बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा ब्रिफिङ हुनेछ । त्यसपछि बजेटसम्बन्धी सबै विधेयक छपाइका लागि पे्रसमा पठाइने छ । सोही दिन आर्थिक, सर्वेक्षण, संस्थान र मन्त्रालयगत प्रगति विवरण संसदमा पेस हुनेछ । संविधानमा उल्लेख भएबमोजिम जेठ १५ गते सङ्घीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत हुनेछ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा तय गरेको छ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा आएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा घट्दो अनुदान प्रवृत्तिजस्ता कारणले आगामी बजेटको सीमा घटाइएको आयोगले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर