प्रधानमन्त्री प्रचण्डको दुःखेसो मिडियाले कुरै नबुझी लेख्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा सोचेअनुसार नतिजा दिन नसकेको भए पनि सरकार सफलतातर्फ उन्मुख रहेको दावी गरे । उनले सरकारले सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र नागरिकताविहीन युवाको पक्षमा महत्त्वपूर्ण काम गरेको बताए । गठबन्धनको सीमा र परिस्थितिको अप्ठ्यारोको बीचबाट काम गर्नुपर्दा सोचेजति भने गर्न नसकेको उनको भनाइ थियो।

‘‘“मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दावी छैन। गठबन्धनको सरकार हो। धेरै सीमा र अप्ठ्यारा हुन्छन्’’, उनले भने, ‘‘सबैलाई मिलाएर लाने जिम्मेवारी हो। तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ। ’’

मिडियाले पूरै विषय नबुझी कतिपय सन्दर्भमा लेखिदिएर भ्रमहरू सिर्जना भएको भन्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको मुद्दा सम्बोधन, भ्रष्टाचारविरुद्धका काम र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको हिसाबले सरकार सफल रहेको दावी गरे ।

प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रूपले मन्त्रालयको बिफ्रिङ लिइरहेको र अहिलेसम्म ६ वटा मन्त्रालयको सकिएको जानकारी पनि दिए। ‘‘“सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढङ्गले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो’’, उनले भने, ‘‘अब टार्गेट दिइन्छ। त्योअनुसार भएन भने सोच्नुपर्छ। ’’

प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेकोले विधि, विधान र कानुनभन्दा माथि कसैलाई पनि छुट नहुने बताए । ‘‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन। विधि, विधान र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन,’’ उनले भने ।

आफ्नो पार्टीको नामबाट कम्युनिस्ट हटाउन लागेको भन्ने चर्चा गलत भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘कम्युनिष्ट पार्टीको नाम परिवर्तन हुँदैन। खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र हुनसक्छ’’ उनले भने, ‘‘भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी पनि हुनसक्छ, यस विषय छलफलमै छौँ। ’’

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। विवादलाई अतिवादतिर जान दिन नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले सबै मिलेर छलफल र संवादबाट शान्तिपूर्णरुपमा समस्या समाधान गर्न आफूले सबैलाई आग्रह गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर