कोरोनाको नयाँ संक्रमण जेएन-१ भेरियन्ट फेला परेसँगै चिन्ता

काठमाडौं ।  कोरोना भाइरसको नयाँ संक्रमण जेएन-१ भेरियन्ट फेला परेसँगै चिन्ता बढ्न थालेको छ । कोरोनाको नयाँ सब–भ्यारियन्ट जेएन.१ भेरियन्ट विश्वका ४० देशमा फैलिएको छ । यो संक्रमणबाट भारतमा अहिलेसम्म २१ जना संक्रमित भएका छन् । जसमध्ये गोवामा १९ र केरला–महाराष्ट्रमा १–१ जनामा संक्रमण देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ । डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ । जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।

डब्ल्यूएचओको चेतावनी: कोरोनाको नयाँ भेरिएन्ट जेएन-१ बाट जोगिनू

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतलगायत देशमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ लाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’को दर्जा दिएको छ। डब्ल्यूएचओका अनुसार संक्रमण द्रुत गतिमा फैलिने तथा निकै सचेत हुनुपर्ने भेरिएन्टलाई उक्त दर्जा दिइन्छ। हाल कोरोनाको जेएन–१ भेरिएन्ट भारत, चीन, अमेरिका र सिंगापुरमा देखापरेको छ। सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओले चेतावनी दिँदै लेखेको छ, ‘यो भेरिएन्ट विशेषगरी जाडो महिना लागेका देशमा फैलिने अनुमान छ।’

भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैनः स्वास्थ्य मन्त्रालय

सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट तत्काल डराउनुपर्ने अवस्था नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सङ्क्रमण देखिएको र यसबाट त्यति धेरै डराउनु नपर्ने बताए । उहाँले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

डा. बुढाथोकीले विगतमा कोरोनाकै बेला तयार गरिएको सघन उपचार कक्ष (आईसीयू), अक्सिजनलगायत भौतिक पूर्वाधार अहिले पनि आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए ।  तर अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारत र चीनमा श्वासप्रश्वासको समस्या बढिरहेको छ । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको र नेपालमा सङ्क्रमण देखिए र फैलिएमा भैरहेका भौतिक पूर्वाधार र जनशक्ति प्रयोग हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

डा. बुढाथोकीका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्था राखिएको छ । साथै श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न पनि आग्रह गरिएको छ । लामो समयसम्म श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङ गर्न भनिएको छ । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम पनि विगतमा लगाएको खोपले नै गर्ने डा. बुढाथोकीले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरिसकेको छ ।

नयाँ सवभेरिएन्ट जेएन डट वान हो । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको सङक्रमणबाट ज्वरो आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विद्को सुझाव छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर