ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बुधबार राति करिब सवा दश बजे भूकम्पपीडितहरूको अस्थायी टहरा निर्माणको लागि जस्तापाता बोकेर आठबीसकोट नगरपालिका–९ राडिबाट वडानम्बर ८ को घर्ती गाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडानम्बर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । मृत्यु हुनेहरुमा आठबीसकोट नगरपालिका वडानम्बर १० का ४६ वर्षीय लोकबहादुर शाही र उनको ४२ वर्षीया श्रीमती चुकी शाही, सोही गाउँका ५२ वर्षीया भर्दर सार्की, वडानम्बर ८ बस्ने ४८ वर्षीया धनराम सार्की र ४७ बर्षीया निर्मला सार्की रहेका छन् । मृतकहरूको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याइएको छ ।

घाइते हुनेहरूमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षीय रमेश सार्की, वडानम्बर ८ निवासी ४१ वर्षीय खड्कबहादुर पुन, १४ वर्षीय दलबहादुर पुन, ४५ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगवीर सार्की छन् । त्यसैगरी वडानम्बर ८ कै ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन दुर्घटनामा परेर घाइते भएका छन् ।

घाइते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ । प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएको जनाएको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर