जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सम्पन्न

काठमाडौं ।  सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव जनकपुरधाममा सम्पन्न भएको छ । रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सोमबार सम्पन्न भएको हो ।

आइतबार राति वैदिक परम्पराअनुसार प्रतीकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।

जानकी मन्दिरका छोटे महन्थ रोशण दास ‘वैष्णव’ले रामकलेवाअन्तर्गत आज करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए । उनका अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, झोरी, बरी, अचार, मिठाईसहित ३६ प्रकारका व्यञ्जन समावेश गरिएको थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ वैष्णवले जानकारी दिए । उनले भने, “जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौँ । दुई सयदेखि पाँच सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ ।”

भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउने परम्परा रहेको छ । यसवर्ष पनि लाखौँ श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका जनाइएको छ । एक साता बढीदेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर