पूर्वमा पहिचानवादीले पराल बोकेको ट्रकमा आगजनी

काठमाडौं । पहिचानवादीले आज पनि पूर्वीय क्षेत्रमा हडताल जारी रहेका छन् । पक्राउ परेका नेता तथा कार्यकर्तालाई निःशर्त रिहा गर्न माग गर्दै पहिचानकर्मीले यातायात अवरुद्धसहित हडताल आह्वान गरेका हुन् ।
धरानको भानुचोकबाट लामो दुरीका सवारीसाधन ठप्प छन् । धरानमा शनिबार यातायात अवरुद्ध गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई साँझ रिहा गरेको थियो ।

सार्वजनिक यातायात ठप्प छन् भने बजार तथा शैक्षिक संस्था सामान्य रुपमा चलेका छन् । एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध पुर्‍याउने प्रयास गरेको आरोपमा गोपाल किराँतीसहित दुई दर्जनभन्दा बढी पहिचानवादी नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
यसैबीच पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् । झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा चलाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।


बन्दकर्ताले आगो लगाउँदा पिकअप पूर्ण रुपमा जलेको छ । बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातायात अवरुद्ध गरेका थिए । बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन् । कोशी प्रदेशको नामकरण सच्याउन माग गर्दै आन्दोलनरत पक्षले शनिबार र आज आइतबार मेची राजमार्ग बन्द आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर