उखुको बोटसहित सर्लाहीका किसानहरू प्रदर्शनमा

काठमाडौं । सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाँक्रासहित पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी सरकारी अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न माग गर्दै जिल्लाभरका किसान भेला भएर राजमार्गमा उखुको लाँक्रा बोकेर नाराबाजी गरेका हुन्। प्रदर्शनमा सहभागीले ‘उखु किसानसँग सम्मानजनक वार्ता गर, उखुको मूल्य ७५० रुपैयाँ कायम गर, उखुको बक्यौता रकम तुरुन्त भुक्तानी गर, किसानमारा होसियार’ जस्ता नारा लगाएका थिए।

मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुको उत्पादन लागत र चिनीको मूल्यका आधारमा छलफल गरेर उखुको मूल्य तोक्न आग्रह गर्दा किसानलाई राख्दै नराखी उद्योगीसँग साँठगाँठ गरेर उखुको मूल्य तोक्ने प्रयास भइरहेको बताए । किसानले सरकारबाट गएको वर्षकै ५३ करोड रुपैयाँ अनुदान रकम पाउन बाँकी रहेको उप्रेतीले जानकारी दिए ।

उखु किसानले माग पूरा नभए आन्दोलनलाई सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। धमाधम काटेर चिनी मिलमा लगेर उखु दिनुपर्ने किसान यो वर्ष अहिलेसम्म मूल्य निर्धारण नहुँदा अन्यौलमा परेका छन्।

हरिवन नगरपालिका–३, डाबरीका किसान भरत महतो कोइरीले गत वर्ष उद्योगले दिनुपर्ने ५४० रुपैयाँ तत्कालै पाए पनि सरकारले दिनुपर्ने ७० रुपैयाँ अनुदान अझै नपाएको गुनासो गरे ।
मूल्य तय नहुन्जेल उद्योग सञ्चालन नगरिदिन किसानका प्रतिनिधिले आग्रह गरेपछि देशकै सबैभन्दा ठुला इन्दुशङ्कर चिनी उद्योग हरिवन र एभरेष्ट सुगर एण्ड केमिकल इडष्ट्रिज रामनगरले उखु क्रसिङ गरेका छैनन्। देशका अन्य केही चिनी उद्योगले भने सरकारले पछि जे जति मूल्य तोक्छ, सोहीअनुसार भुक्तानी सहमतिमा उखु क्रसिङ गरिरहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर