एमालेलाई अवरोध गर्ने परिवर्तन र समृद्धिका बाधक : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको आरोप लगाएका छन् । एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उनको भनाइ छ।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिम आइपुगेका अध्यक्ष ओलीले फिदिममा आयोजित सभामा शान्ति, सद्भाव र एकता बिनाविकास सम्भव नहुने टिप्पणी गरे । कोशी प्रदेशमा समृद्धिका लागि सयौँ आयोजना सञ्चालन गर्ने सम्भावना रहेका कारण निर्माणमा जुट्न युवालाई उनले आग्रह गरे ।

युवा पुस्ता पहिले अनुत्पादक क्षेत्रमा लागेर समय बरबाद गर्ने, समय गुज्रेपछि विदेशीको घर र देश बनाइदिन जाने गरेको भन्दै उनले देशमा विकास आयोजना बन्दा युवा पुस्ता पलायन हुनबाट रोकिने बताए । सकारात्मक सोच र एकता हुने हो भने पहाडमा विकास र समृद्धिका पर्याप्त सम्भावना रहेको उनको भनाइ छ। अध्यक्ष ओलीले पहाडबाट बसाइँ सरेर तराई र शहरी क्षेत्रमा जानेक्रम रोक्न यसअघि निर्माण थालिएका मध्यपहाडी राजमार्ग, तमोर जलाशययुक्त आयोजना, उत्तर दक्षिण लोकमार्ग र प्रत्येक पालिकामा निर्माण थालिएका पाँच शय्याका अस्पताल निर्माणले पूर्णता पाउनुपर्ने बताए ।

समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आफ्नो नेतृत्वका नेता कार्यकर्ता कोशी प्रदेशमा प्रवेश गरेपछि पहिचान पक्षधरका नेताले विरोध गरेको भन्दै उनले त्यसको अर्थ नभएको बताए ।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा शनिबार १७ औँ दिनमा पाँचथरको फिदिम आइपुगेको हो। उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवा भन्ज्याङ पुगेर समापन हुँदैछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर