राजश्व छलीलाई लिएर व्यापारी र प्रहरीबीच झडप

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको एक भारतीय नम्बरको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिनका लागि शुक्रबार राति नियन्त्रणमा लिएको छ।

भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रबार साँझ नियन्त्रणमा लिन खोज्दा व्यवसायीले अवरोध गर्दै भन्सार तिरेर ल्याएको जनाउँदै करिब पाँच घण्टासम्म धर्ना दिएर रोकेका थिए। सो ट्रकमा लोड रहेको लत्ताकपडा नेपालगन्ज न्यूरोडमा सञ्चालित ग्रिपसन इन्टरप्राइजेजको भएको खुलेको छ।

नेपालगन्जस्थित न्युरोड र पुष्पलाल चोक क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबीच धेरै बेरसम्म तनाव र झडपसमेत भएको थियो। ठुलो सङ्ख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले भन्सार राजस्व तिरेर ल्याएको सामान जनाउँदै रोक्न प्रयास गरे पनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा लिएर राति उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पुर्‍याएका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राजस्व ‘चुहावट’ गरेको आशङ्कामा ट्रकलाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘‘हाम्रो कारबाही सफल भएको छ, राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई ट्रक बुझाइएको छ, अब छानबिन र अनुसन्धान हुनेछ।’’

आवश्यक अनुसन्धान र छानबिन गरेर राजश्व चुहावट भएरनभएको विषयमा नतिजा सार्वजनिक गरिने प्रजिअ पोखरेलले बताए । उनले राजस्व चुहावट नभएको भए ससम्मान व्यवसायीको सामान फिर्ता गरिने बताए । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले भन्सार जाँच पास भएर आएको ट्रकलाई आशङ्का लागेमा पुनः भन्सारमै लगेर जाँच गर्नुपर्नेमा राजश्व अनुसन्धानमा पुर्‍याउनु राज्य आतङ्क भएको प्रतिक्रिया दिए। ग्रिपसन इन्टरप्राइजेजका सञ्चालक तेजबहादुर बुढाले आफूले सो सबै सामान भन्सार राजस्व तिरेर ल्याएको जनाउँदै छानबिनका लागि तयार रहेको तर यसरी दादागिरी शैलीमा गरिएको कार्यको विरोध गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर