गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न धर्ना

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका संघ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा अहिले विमानस्थलअघि निरन्तर धर्ना र विरोध प्रदर्शन भइरहेको छ । धर्नास्थलमा यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, संघ संस्था र स्थानीय बासिन्दा स्वतःस्फुर्तरुपमा पुगेर ऐक्यबद्धता जनाएका छन् । ‘सबैको साथ र सहयोगले हाम्रो विरोधको कार्यक्रम सफल भएको छ’ आन्दोलनको नेतृत्व गरेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले भने, ‘विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकारलाई दवाव पुगेको विश्वास छ ।’

सञ्जालमा आबद्ध तीन दर्जन बढी संघ संस्थाले गरेको आन्दोलनमा एकपछि अर्को गरी संघ संस्थाहरुले ऐक्यबद्धता जनाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्जाललाई पत्र काटेर पुस २ गते काठमाडौंमा छलफका लागि बोलाएको छ ।

सञ्जालका पदाधिकारी उक्त छलफलमा सहभागी हुने जनाएका छन् । सरकारले पटक–पटक झुक्याएको र ज्ञापनपत्रमार्फत् जानकारी गराउँदा समेत विमानस्थल पूर्ण क्षमतामा चलाउन पहलकदमी नगरेको गुनासो उनीहरुको छ ।

धर्ना कार्यक्रममा पुगेर नेकपा एमाले, माओवादी, जसपा, लोसपा, काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, राप्रपालगायतका दलले आफूहरुको पूर्ण साथ र सहयोग रहेको बताएका छन् । यसले आन्दोलनलाई थप प्रभावकारी बनाएको छ ।

यस्तै, रुपन्देही उद्योग संघले उडान नियमित हुनुपर्ने माग राख्दै सिद्धार्थ सञ्जालको नेतृत्वमा भैरहवामा भैरहेको दबाबमूलक कार्यक्रममा साथ दिएको छ ।
रुपन्देही उद्योग संघको टीम सहभागी भर्इ आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो । धर्ना कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले सरकारको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर निजी क्षेत्रले माग राख्नुपरेको बताए ।

उनले सबै कुरा प्राप्त गर्न आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले भने, ‘गौतमबुद्ध विमानस्थल नेपालकै र लुम्बिनी प्रदेशको गौरव हो । यस्तो महत्वपूर्ण आयोजनालाई अन्योलमा राखिनुहँदैन, महाकालीको नागरिकलाई पनि यही विमानस्थलबाट जानआउन सहज हुन्छ ।’ उनले राज्यले आफैँ भनेको कुरा लागू नगर्ने परिपाटीले सबैलाई समस्या रहेको बताए ।

संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । उनले सबै कुरा राज्य सञ्चालन गर्ने व्यक्तिको हातमा रहेको बताए । पूर्वअध्यक्ष बोहोराले विमानस्थल सञ्चालनका लागि भिसा सेन्टर, श्रम स्वीकृतिलगायतका संरचना बनाउन आग्रह गरे ।

उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताए । उनले भने, ‘यो आन्दोलन लामो हुनेवाला छ । आवश्यक परे उद्योगीसँगै उद्योगमा कार्यरत मजदूरको पनि आन्दोलनमा सहभागिता हुन्छ ।’

उद्योग संघको धर्ना कार्यक्रममा महासचिव हिरामणी भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, महिला सचिव मन्जु भुसाल, सहकोषाध्यक्ष विशाल वेल्वासे, सचिवालय सदस्य राजुत घिमिरे, कार्यसमिति सदस्यहरु माधव नेपाल, मिना थापा, कृष्णप्रसाद पोखरेल, दिलु शाही सहभागी भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य हेमा वेल्वासेले सन्जालको आन्दोलनमा रुपन्देही उद्योग संघले दिएको ऐक्यवद्धतालाई धन्यवाद दिँदै आफूहरुले निरन्तर साथ दिएको बताइन् । उनले प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेसहित आफूहरु सन्जालको साथमा रहेको र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि ऐक्यवद्धता जनाउनुभएको बताउँदै अब यो सबैको सामूहिक आन्दोलन भएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर