गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन् ।

गाडीको ठक्करबाट रुकुमपश्चिम मुसिकोट घर भई हाल इलाका प्रहरी कार्यालय कोहलपुर मातहत प्रहरी बिट मदन चोकमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

त्यसैगरी बाँसगढी नगरपालिका वडा नं. ५ बर्दिया घर भएका ३२ वर्षीय प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएको उनले जानकारी दिए । उनका अनुसार डिउटीमै रहेका प्रहरी जवान र हवलदारलाई पश्चिमबाट पूर्वतर्फ आइरहेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले गए राति मदन चोक नजिक ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते हुनुभएका दुवै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको र उपचारका क्रममा प्रहरी जवान वलीको मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए ।

गम्भीर घाइते प्रहरी सहायक हवलदार बुढाक्षेत्रीको कोहलपुरमा उपचार सम्भव नभएपछि थपा उपचारका लागि काठमाडौँ पठाउन लागिएको प्रनाउ डाँगीले बताउनुभयो । प्रहरीलाई ठक्कर दिने बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर