फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

२९ औं महानगर दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । प्रमुख साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री ‘प्रचण्ड’सँग आग्रह गरे । ।

उनले भने, ‘‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तीमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्षभित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’’

प्रमुख साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि सङ्घ सरकारसँग आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर