यो जाडोयाममा कुन क्षेत्रमा पानी पर्ने सम्भावना कति?

यो जाडोयाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ।

डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिनाको अवधिमा सबैभन्दा बढी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बताइन्। कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई सरदर वर्षा भन्ने गरिन्छ। एकजना वरिष्ठ कृषि अर्थविज्ञले पूर्वानुमान अनुसार धेरै पानी परेमा हिउँदे बालीमा असर पर्न सक्ने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

कहाँ पानी पर्ने सम्भावना कति?

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पूर्वोत्तर तथा कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

“सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी, कर्णालीका दक्षिणी, लुम्बिनीका पूर्वीबाहेकका भूभाग, गण्डकी तथा वाग्मती प्रदेशका पश्चिमोत्तर र कोशी प्रदेशका पूर्वोत्तर भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,” विभागको तीन महिने आकलनमा उल्लेख छ।

सुदुरपश्चिम प्रदेशका पश्चिमी भूभाग, लुम्बिनीका पूर्वी, वाग्मतीका मध्य तथा दक्षिणी, मधेशका पश्चिमी र कोशी प्रदेशका पश्चिमोत्तर भूभागमा चाहिँ सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको देखिएको छ।

कोशी प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका मध्य तथा पूर्वी भूभागमा भने सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत देखिएको विभागले जनाएको छ।

प्रभाव

पूर्वानुमानका आधार के?

वरिष्ठ मौसमविद्‌ पोखरेलका अनुसार विश्व मौसम सङ्गठन अन्तर्गतका जलवायु सूचना उत्पादन केन्द्रहरूका हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एशियाली जलवायु दृष्टिकोणको आकलनका आधारमा यो पूर्वानुमान गरिएको हो।

हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको वर्तमान अवस्था तथा जलवायु प्रारूपहरूको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत ध्यानमा राखी प्रक्षेपण गरिएको विभागले जनाएको छ। विभागका अनुसार हाल प्रशान्त महासागरमा एल निन्यो अवस्था रहेको र आगामी हिउँदमा पनि त्यो कायम रहने देखिएको छ।

एल निन्यो प्रभाव

यो हिउँदमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिनुको एउटा कारण एल निन्यो भनिने जलवायु प्रणाली भएको विभागले जनाएको छ। वैज्ञानिकहरूका अनुसार एल निन्यो र ला निन्या भनेका जलवायु प्रणाली एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) का दुईवटा अवस्था हुन्।एल निन्यो भनेको एउटा जलवायु प्रणाली हो जुन पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर हुन्छ। यो अवस्था हुँदा पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुन्छ।

हिउँदे बाली

एल निन्यो र ला निन्याको अवस्था सामान्यतया दुईदेखि सात वर्षमा देखापर्छ र धेरैजसो ९ देखि १२ महिनासम्म रहन्छ।

ला निन्याको अवस्था एल निन्योभन्दा कम देखापर्छ।

एल निन्यो र ला निन्याले निम्त्याउने मौसमको चरम अवस्थाका कारण विश्वभरि नै भौतिक संरचना, खाद्यान्न र ऊर्जा प्रणालीमा असर गर्छ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनका अनुसार एल निन्योका कारण क्यानडा र एशियामा सन् २०१४ देखि २०१६ सम्ममा भएको खडेरीका कारण ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षामा असर गरेको थियो।

कृषि अर्थविद्‌ के भन्छन्?

विज्ञहरूका अनुसार सामान्यतया हिउँदयाममा लगाइने बालीहरूले धेरै पानी सहन सक्दैनन्। “ठ्याक्कै कुन स्तरमा पानी पर्ला भन्ने कुरा त अहिले थाहा हुने कुरा भएन। विभागले पनि सरदरभन्दा बढी पर्ने भनेको हो,” वरिष्ठ कृषि अर्थविद्‌ महादेवप्रसाद पौडेलले बीबीसी न्यूज नेपालीसँग भने।

“तर धेरै पर्‍यो भने त्यसले बालीनालीमा क्षति पुर्‍याउन सक्छ। किनभने हिउँदमा लगाइने गहुँ, दलहन बाली र तरकारीमा आलु नै भनौँ तिनले धेरै पानी सहँदैनन्।” बालीनालीमा पर्ने असर वर्षाको प्रवृत्तिमा पनि निर्भर गर्ने उनी बताउँछन्।

“थोरैथोरै पानी पर्ला अथवा हप्ता दिनसम्म वर्षा भएर खेतहरूमा पानी जम्ला। वर्षाको प्याटनमा पनि निर्भर गर्ला,” पौडेलले थपे। पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण चरम वर्षा अथवा सुक्खा लगायतका अवस्था निम्तिन थालेकाले सोहीअनुसार रणनीति अपनाउनुपर्ने पनि उनको सुझाव छ। “अनुकूलनतर्फ जानुपर्छ र अनुकूलनतर्फ लाग्दा अनुसन्धानले त्यसलाई निर्देशित गर्नुपर्छ,” पौडेलले भने। (फोटो, समाचार : साभारः बीबीसी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर