महँगी घट्यो, घ्यूतेल र तरकारी पनि सस्तियो : राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कात्तिक महिनामा गत आर्थिक वर्षको सोही अवधिमा भन्दा महँगी घटेको दाबी गरेको छ । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको हो । अघिल्लो वर्षको कात्तिक महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको थियो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको जनाएको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको केन्द्रीय बैंकले दाबी गरेको हो । कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत थियो ।

यस्तै, गत महिना वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.०९ प्रतिशत रहेकोमा अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.०२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः २.६३ प्रतिशत, १.७१ प्रतिशत र २.६७ प्रतिशत रहेको तथा समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर