अपहृत विपिन जोशीको फिर्तीका लागि सरकार अन्तिम प्रक्रियातिर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको जानकारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताए ।
उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए । उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरू युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए ।

उनले भने ‘चाहे रुस युक्रेनको युद्ध, हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्याङ्क हामी खोज्दै छौँ । विगतमा देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढीरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए । उनले गठबन्धनका बैठकहरू हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भई नै रहेको छ । तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।’ प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताए ।

“म युएईमा हुँदा एनसेल खरिद बिक्री भएको सुनेँ, यसमा सतर्कतापूर्वक अध्ययन गर्न निर्देशन दिएँ”, उनले भने, “स्वदेश फर्केको भोलिपल्ट मुख्य सचिवलगायत पदाधिकारीलाई यसबाट नेपालको कर प्रणाली, वैदेशिक लगानी तथा केही वर्षपछि सो कम्पनी नेपाल सरकारले प्राप्त गर्ने प्रावधानमा के कस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएँ ।” अस्वाभाविक देखिएको एनसेल खरिद बिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, “शेयर खरिद बिक्रीमा कैफियत छ, छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ, राष्ट्र, जनता र मुलुकको अर्थतन्त्रका पक्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने प्रस्ताव राखेँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर