भारतीय सीमामा नेपाली युवामाथि गोली प्रहार

काठमाडौं । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिए ।

भारतीय शहर जोगबनी गएर फर्कंदै गरेका विराटनगर–८ मधुमाराका २८ वर्षे सङ्ग्रौलालाई भारतीय भूमिमा आइतबार साँझ पौने ६ बजे गोली प्रहार भएको थियो । सङ्ग्रौलाको दाहिने तिघ्रामा गोलीको छर्रा लागेको र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते युवा खतरामुक्त रहेको प्रवक्ता दाहालले बताए ।

युवामाथि कसले किन गोली प्रहार ग र्‍यो भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन । “भारतीय भूमिमा (दशगजा भन्दा करिब १५) मिटर पर घटना भएकोले नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न मिलेन, हामीले भारतीय पक्षसँग समन्वय गरेर घटनाको बारेमा चासो लिएका छौं”, प्रवक्ता दाहालले भने, “यो घटना भारततर्फ भएको हुँदा छानबिन र कारबाहीका लागि पीडितले भारतमै गएर जाहेरी दिनुपर्छ र उतैको प्रहरीले अनुसन्धान गर्नुपर्छ ।”

घाइते संग्रौलाको उपचारमा सहयोग गर्ने र भारतीय समकक्षीसँग समन्वय गर्ने काम मात्र नेपाल प्रहरीले गर्ने उनले जानकारी दिए । घाइते अस्पतालमा उपचाररत भएका कारण प्रहरीले बयान लिएर थप विवरण बुझिसकेको छैन । तर प्रहरी स्रोतका अनुसार घाइते युवा लागुपदार्थ प्रयोगकर्ता भएको र लागुपदार्थ सेवन गरी फर्किने क्रममा भारतीय युवाहरुसँग विवाद हुँदा गोली प्रहार भएको हो । घाइते युवाले पनि आफू पूर्व लागुऔषध प्रयोगकर्ता भएको स्वीकार गरेका छन् । “म पूर्वलागुऔषध प्रयोगकर्ता हुँ तर अहिले प्रयोग गर्दिंन्”, घाइते सङ्ग्रौलाले भने, “चिनी लिएर फर्किंदै थिएँ केही केटाहरुले यसलाई गोली हान्दिउँ भनेको सुनेपछि ल हान न त भनेको थिएँ हानी नै पो दिए ।”

सङ्ग्रौलामाथि जोगबनीस्थित रेल्वे स्टेसन उत्तरतर्फ गोली प्रहार भएको थियो । नेपालीहरुका लागि खुला आवतजावत गर्न नमिल्ने बाटो प्रयोग गरेर संग्रौला नेपालतर्फ आउँदै गरेको पाइएको छ । त्यसआधारमा पनि लागुऔषध प्रयोग गरेर फर्केको वा त्यस्ता साथीहरुको साथमा आउँदै गर्दा उक्त बाटो प्रयोग गरेको प्रहरीको अनुमान छ । नेपाल प्रवेश गर्ने मूल बाटो छोडेर अन्यत्रबाट हिँड्दा प्रहरीले नै शङ्कास्पद मानेको छ । सङ्ग्रौलामाथि भारतीय युवाहरुकै समूहले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर