“आफ्नो स्वार्थ पूरा नभएपछि सांसद अमरेशकुमार सिंहको विद्वेषपूर्ण व्यवहार”

काठमाडौं ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव रहेकी छोरी गंगा दाहालमाथि लगाएको आरोपको खण्डन गरेको छ । सांसद सिंहले प्रधानमन्त्रीपुत्री गंगा दाहालले विभिन्न व्यापारीसँग अनुचित रकम उठाएको आरोप लगाउँदै सार्वजनिक गर्ने चुनौती दिएपछि प्रधानमन्त्रीकाे सचिवालयले खण्डन गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिमा सांसद सिंहको स्वार्थ पूरा नभएपछि योजनाबद्ध रुपमा प्रधानमन्त्री र  परिवारविरुद्ध लागेको जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले गंगा दाहालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै कानूनी उपचार खोज्न प्रतिनिधिसभालाई ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तिः

“मा.अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ।

उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौं। देशलाई ठग्ने उद्देश्यले बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि बढाइसकेको सबैमा अवगत नै छ।

सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।

सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतस् झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ।
यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौं।

सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार छौँ। हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्। धन्यवाद।
-प्रम सचिवालय” (तस्बिरः फाइल रफतन्युजडटकम : आफूलाई प्रतिनिधिसभाको विगत अधिवेशनको बैठकमा सभामुखले बोल्न समय नदिएको भन्दै सांसद सिंहले विरोधस्वरूप लुगा फुकालेर विरोध गर्दाको क्षण)



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर