गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा काम गर्न सकेन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर ठाडो पारेर काम गर्न नसकेको आरोप लगाएका छन् ।

पोखरामा शुक्रबार आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन जनताको पक्षमा काम गर्न नसकेपछि एमालेको विरोधमा लागेको टिप्पणी गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा काम गर्न सक्रिय नरहेको आरोपसमेत लगाए । देश र जनताको समस्या सङ्कलन गरी आगामी दिनमा समाधान गर्न एमालेले मिसन ८४ सुरु गरेको उनको भनाइ छ ।

उनले भने, ‘एमाले साधारण प्रतिपक्ष होइन । इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, सङ्घर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो । देशको सबैभन्दा लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि देश र जनताको पक्षमा आफ्नो भुमिका खेल्छ ।’

अहिलेका तत्कालिक समस्या र तिनको समाधानमा पनि लागिरहेको उनले चर्चा गरे । “एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । त्यसकारण उनीहरुको काम भनेको एमालेको विरोध गर्नु मात्र हो, खेदो खन्ने मात्र हो”, उनले थपे, “राष्ट्रियताको पक्षमा गठबन्धन दलका नेता शिर निहुराउँछन् । यस अवस्थालाई तोड्न एमालेले मिसन ८४ अघि सारेको छ । यो मिसनले समृद्ध नेपाल सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत सरकार बनाउन सहयोग गर्नेछ ।’ अध्यक्ष ओलीले नागरिकको समस्या समाधानका लागि एमालेले सङ्कल्प यात्रा सुरु गरेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर