भारतलाई बिजुली बेचेर प्राधिकरणको आम्दानी १५ अर्ब २४ कराेड रुपैयाँ

काठमाडौं । यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएकाे जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकाे हो । प्राधिकरणले यस अवधिमा दैनिक अधिकतम ७ सय मेगावाटसम्म बिजुली निर्यात गरेको थियो । निर्यात गरिएको बिजुलीकाे औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि मङ्सिरमा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको बिजुली निर्यात भएकाे छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट बिजुली निर्यात भएको छ । निर्यात गरिएको बिजुलीकाे औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुक्खायाम शुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्न शुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट बिजुली आयात शुरु भएको छ । आज शुक्रवार रातिदेखि बिजुली निर्यात बन्द हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर