ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन् ।

ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप , गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताए । सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उनले बताए । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ ।

हिउँ पर्न सुरु गरेसँगै पाथीभरा दर्शन गर्न आएका तीर्थयात्री भने हिउँमा खेलेर रमाउन पाउने भएकाले खुसी भएका छन् । गएको वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो । गएको वर्ष फागुनको दोस्रो सातामात्रै हिमपात भएको थियो ।

वर्षा हुँदा स्थानीय भने खुसी भएका छन् । लामो समयसम्म वर्षा नहुँदा बालीनाली सुक्न थालेपछि किसान चिन्तित थिए । वर्षाले किसानलाई केही राहत पुगेको फक्ताङलुङ गाउँपालिका–६ का बिर्ख लिम्बूले जानकारी दिनुभयो । वर्षा भएसँगै अलैँची, सागसब्जीलगायतका हिउँदे बालीका लागि राम्रो भएको उनले बताए ।
यसैगरी इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र आज पनि बिहानैबाट हिउँ झरेको जनाइएको छ । सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार छ सय ३६ मिटर छ । हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बुढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन् । दीर्घरोगी गोठमा नै बस्नेलाई समस्या पर्ने गरेको छ । हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट हिउँ खेल्न पर्यटक जान थालेको बताइएको छ । घर बाहिरको काम गर्न समस्या भएको छ । वस्तुलाई घाँस काट्न समस्या भए पनि किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ । सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानको भनाइ छ ।  गएको वर्ष बाक्लो हिउँ नपरेको तर यस वर्ष सुरुदेखि नै हिउँ पर्न थालेको  र हिउँ खेल्नका लागि जाने पर्यटककै कारण सो क्षेत्रका होटल भरिभराउ हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर