पशुपतिमा जथाभाबी शतबीज नछर्न आग्रह

काठमाडौं ।  बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेकाे छ ।

कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन । तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चाैरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि निःशुल्क पालको व्यवस्था गरिदिएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गर्ने सूचनामा उल्लेख छ ।

यस्तै आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेहरूका लागि कोषमा दुई हजार एक सय रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ । त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।

बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड–रक्सी र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्री/वितरणमा रोक लगाइएको छ । बालाचतुर्दशी पर्व आउँदो सोमवार मनाइँदैछ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर