मनाङमा हिमपातबाट जनजीवनमा कष्ट भएपनि किसानहरू भने खुशी

काठमाडौं । मनाङमा हिमपातका कारण जनजीवन कष्टकर भएको छ । मनाङका चारैवटा पालिकामा यो सिजनको पहिलो हिमपात भएको हो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मनाङका उच्च हिमाली भेगमा सोमबार बिहानैदेखि भारी हिमपात भएको बताए । उनले भने, “हिमपात हुँदा किसान खुसी भएका छन् ।” उनका अनुसार गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान बढी खुसी भएका हुन् ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले माथिल्लो मनाङ आएका पर्यटक हिमपातका कारण होटलमै बस्न बाध्य भएको र दुई फिटसम्म बाक्लो हिमपात भएकाले सडक सबै छोपिएको तथा तिलिचो जाने पर्यटक बाटैमा होटलमा बसेको बताए।

माथिल्लो मनाङमा दुई फिटसम्म हिउँ जमेको ङिस्याङका कृषक याङदुङ गुरुङले जानकारी दिए । उनले भने, “हिमपातका कारण धारामा पानी जमेको छ । अत्यधिक चिसो भएको छ । चिसोका कारण मनाङ भ्रमणमा आएका पर्यटकहरु प्रभावित भएका छन् ।”

हिमपात भएपछि मनाङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसी भएको कृषक राम गुरुङले बताए । पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले यस सिजनको अन्त्यमा परेको हिमपातले कृषकहरु बढी उत्साहित भएको बताए । उनले हिउँ पग्लिने क्रम जारी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर