एमाले आज दैलेख र सुर्खेतमा केन्द्रित हुने

काठमाडौं ।  नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत आज दैलेख र सुर्खेतमा विविध कार्यक्रम हुँदैछ ।

आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुने र आजको यात्रा ७१ किलोमिटर मात्र रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । आइतबार अछामको मङ्गलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको उनले बताए ।

त्यस्तै, आज बिहान दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरूसँग सामूहिक भेटघाट रहेको छ । आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीसँग छलफलको कार्यक्रम रहेको छ । चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले जानकारी दिए ।

यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ । त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ ।

वीरेन्द्रनगरमा आज दिउँसो ३ः०० बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रसिद्ध पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्  । काँक्रेविहारमा थारु संस्कृतिको प्रदर्शन गर्ने पनि तयारी छ । प्रमुख ढकालका अनुसार सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी, व्यापारी, बुद्धिजीवीहरूसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर