ला-लिगा फुटबलमा रियल म्याड्रिड शीर्ष स्थानमा

काठमाडौं ।  स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिड शीर्ष स्थानमा फर्किएको छ। शनिबार राति भएको खेलमा रियल म्याड्रिडले ग्रानाडालाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो।

लिगमा १५ खेलबाट जिरोना समान ३८ अंक भएपनि रियल शीर्ष स्थानमा रहेको हो। जिरोनाले पनि शनिबार नै भएको खेलमा भ्यालेन्सियालाई २-१ ले हराउँदै आफ्नो सनसनीपूर्ण प्रदर्शन कायम राखेको हो।

रियललाई अग्रता दिलाउने क्रममा जर्मनीका मिडफिल्डर टोनी क्रुसको उत्कृष्ट पासलाई ब्राहिम डियाले २६ औं मिनेटमा गोलमा परिणत गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।

रियलको जितमा ५७ औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए। उनले जज बेलिंघमको प्रहार गोलरक्षकले ‘वान टच’ समाउन नसकेको बललाई रिबाउन्डमा गोल गरेका थिए।

कार्लो एन्सेलोटीको रियल म्याड्रिडले पछिल्ला पाँच खेलमा लगातार जित निकालेको छ। जारी सिजन बर्नेबेउमा रियल अपराजित रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर