भोलि बुधबार पनि ताप्लेजुङ बन्दको आह्वान

काठमाडौं । पूर्वी नेपालका पहिचान पक्षधरले पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरिएको भन्दै भोलि बुधबारका लागि ताप्लेजुङमा बन्दको घोषणा गरेका छन्। पहिचान पक्षधर समूहले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेका हुन्।

विज्ञप्तिअनुसार ताप्लेजुङमा बजार पसल र यातायात बन्द हुने उल्लेख गरिएको छ। नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटब्यूरो तथा प्रदेससभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरेका कारण आन्दोलनलाई थप सशक्त बनाउनुपरेको सो समूहले उल्लेख गरेका छन्।

आन्दोलनरत पक्षमाथि नै हमला गर्ने एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुको सट्टा उल्टै आन्दोलनरत पक्षका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरी प्रशासनको गलत नियत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रदेश नं।्. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधी झैँ आफ्ना साथीहरुलाई मध्यरातमा गिरफ्तार गरिएको पनि आरोप लगाइएको छ।

गिरफ्तार गरिएका कार्यकर्ता बिपिन कङ्लिवा र आनन्द कङ्लिवालाई बिनासर्त रिहाइ नगरसम्म बुधबारदेखि चरणबद्ध आन्दोलनलाई सशक्त बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै सो समूहले प्रदेशको पुनःनामाङ्कन नभएसम्म पहिचानवादी आन्दोलनलाई जारी राख्ने पनि जनाएका छन्।

यसरी बजार र यातायात बन्दसहित बुधबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका पहिचान पक्षधरले मङ्गबार साँझ सदरमुकाम फुङ्लिङ बजारमा बन्दको कार्यक्रमबारे प्रचारप्रसारसमेत गरेका छन्। पहिचानवादी आन्दोलनलाई सहयोग गर्न बजारवासी तथा सम्बन्धित पक्षलाई प्रचारप्रसारमार्फत आग्रह गरेका हुन्।

सो समूहले नै मङ्गलबारका लागि आह्वान गरेको बन्दका कारण मेची राजमार्गसहित ग्रामीण क्षेत्रमा यातायात ठप्प भएको थियो। पहिचान विरोधी अभिव्यक्ति दिएको आरोपमा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध पहिचान पक्षधरले आइतबार फुङ्लिङमा कालो झण्डा देखाउनुका साथै नाराबाजी गरेका थिए।

यता बुधबारपछि पनि पक्राउ परेका साथीहरुलाई बिनासर्त रिहाइ नगरे वा गलत मुद्दा लगाएर फसाउन खोजिए अनिश्चित बन्द आह्वान गर्दै आन्दोलनलाई थप सशक्त र व्यापक बनाइने संघर्ष समितिका सदस्य सरोज कङ्लिवाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर