एमाले सचिव भट्टराईविरुद्ध कालो झण्डासहित नाराबाजी

काठमाडौं ।  नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् ।

नेता भट्टराईलाई कालो झण्डा देखाउँदै पहिचान पक्षधरले सदरमुकाम फुङ्लिङमा प्रदर्शनसमेत गरेका छन् । पहिचानविरोधी भएको भन्दै पहिचान पक्षधरले भट्टराई र प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध कालो झण्डासहित नाराबाजीसमेत गरेका थिए । संसदमा भनाइ राख्नेक्रममा भट्टराईले पहिचानविरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरले आरोप लगाएका छन् ।

यस्तै, प्रदेश १ को कोशी नामकरणमा हस्ताक्षर गरेको भन्दै एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य मेन्याङ्बोविरुद्ध पहिचान पक्षधरले प्रदर्शन गर्दैआएका छन् । कालो झण्डा देखाउने तथा प्रदर्शन गर्नेक्रममा एमाले कार्यकर्ता र पहिचान पक्षधरबिच सामान्य घम्साघम्सी (झडप) समेत भएको थियो । एमाले सांसदहरुविरुद्ध प्रदर्शन भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रदेशको कोशी नामकरण भएपछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, किराँत याकथुङ चुम्लुङ, किराँत राई यायोक्खालगायतका पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् । पहिचान पक्षधरले कोशी नामाकरणलगत्तै पक्षमा मतदान गर्ने प्रदेशभरकै प्रदेशसभा सदस्यहरूलाई जिल्ला प्रवेशमा रोक लगाएका थिए ।

ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यद्वय भट्टराई र उर्मिला थेबे तथा प्रदेशसभा सदस्य मेन्याङ्बोकै प्रायोजनमा एमाले जिल्ला कमिटीले दसैँ, तिहार, छठ, चासोक तङ्नाम, ल्होसारजस्ता चाडपर्वको अवसर पारेर आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर