२४ घण्टाको अवधिमा आठ प्यालेस्टिनी मारिए

काठमाडौं ।  इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घण्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

जेनिनमा ठुलो सङ्ख्यामा सशस्त्र सवारीसाधनसहित घुसपैठ गरेर इजरायली सेनाले पाँच जनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजरायली हमला थियो ।

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार एक इजरायली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो । अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार इजरायली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो । उनीहरूले स्वचालित हतियारका साथ ठुलो लडाइँ भएको पनि जानकारी दिए ।

इजरायली सेनाले उसले पश्चिम किनारको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतङ्कवादी विरोधी गतिविधिहरू’ गरेको बताएको छ । अगस्टमा दुई इजरायलीको हत्या गर्ने आक्रमणका सन्दिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिन नजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ । रामल्लाह सहर नजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा इजरायली सेनाको हमलाका त्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले इजरायली सीमापार गरेको हमलापछि पश्चिम किनारमा हिंसा बढेको देखिएको छ । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए । हमास सरकारका अनुसार इजरायलले गाजामा बमबारी र स्थल कारबाहीका साथ प्रतिक्रिया दिएको छ । इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा पश्चिम किनारमा दुई सय ३० भन्दा बढी प्यालेस्टिनीहरूलाई इजरायली बासिन्दा र सैनिकले मारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर