मोहन बस्नेतलाई तत्काल मन्त्री पदबाट मुक्त गर्न डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्।

मन्त्री बस्नेतले आफूलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाएको भोलिपल्ट आइतबार विज्ञप्ति निकालेर डा. केसीले उनलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन्। मन्त्री बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा केसीले गलत माग लिएर अनशन बस्ने गरेको आरोप लगाएका थिए। मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै डा. केसीले उनी पदमा बसिरहनु लोकतान्त्रिक मूल्य–मान्यताको बर्खिलाप भएको दाबी गरेका छन्।

‘मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,’ डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य–मान्यताको बर्खिलाप हो। निजलाई तत्काल पदमुक्त गरियोस्।’
यस्तै डा. केसीले मन्त्री बस्नेतले मर्यादाविपरीतका क्रियाकलाप गरिरहेको आरोप पनि लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर