मेयर बालेन साहलाई प्रधानमन्त्री बन्न दुर्गा प्रसाईंको निम्तो

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन साहलाई आग्रह गरेका छन् ।​  काठमाडौंको सिफलमा शनिवार आयोजित कार्यक्रममा प्रसाईंले कार्यकारी प्रधानमन्त्री बनाउने भन्दै आन्दोलनमा साथ दिन आग्रह गरेका हुन् ।

‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बन्नुस् मलाई चाहिँदैन । आउनुस् पहिला यी महिलाका आँखाका आँशु पुछौं । तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’​

प्रसाईंले आफ्नो आन्दोलनले गणतन्त्रको जग हल्लाइ दिएकाले हिजो नजरबन्दमा राखिएको दाबी गरे । ‘मलाई हिजो सरकारले आङसाङ सुकीलाई जस्तो त्यो के रे ? (नजरबन्द)मा राख्यो, साँझ आएर सुरक्षाका लागि भन्यो’ प्रसाईंले भने । उनले आफ्नो आन्दोलनलाई मूलधारका मिडियाले समर्थन नगरेको गुनासो गरे । ‘मिडियाका १२ भाइहरूले हाम्रो आन्दोलनलाई सहयोग गरेनन्, तर पनि युट्युबका साथीहरूले गर्दा जनताले थाहा पाएका छन्’ उनले भने ।

उनले भने,‘०७४ सालमा जुन दिन प्रचण्डको छोरो खस्नुभयो, त्यो दिन प्रचण्ड र ओली मेरो घरमा हुनुहुन्थ्यो, मैले त्यतिवेला एउटै मञ्चमा राखेर तपाईंहरु लि क्वान बन्नुहोस, महाथिर बन्नुहोस भनेको थिएँ । तपाईँहरु दुई जनालाई यो मौका आएको छ, तपाईंहरु मर्दाखेरि तपाईंहरुका फोटा मान्छेहरुले मूल ढोकामा राखेर पूजा गरुन्, यो कुरा मैले भनेको थिएँ । आज यिनीहरु मरे भनेनि यी नेपाली जनताले खसी काटेर खान्छन् । दुर्गा प्रसाईं एउटा सत्यवादी मान्छे हो । म तपाईंहरुलाई ढाँट्न र झुक्याउन आएको होईन । म भोट माग्न आउँदिनँ । पहिला नेपाल बलियो हुनुपर्छ । आफ्नो खुट्टा बलियो हुनुपर्दछ । यो देश तस्करहरुले सिध्याएका छन् ।’

उनले अब एमाले पार्टी सक्किएको पनि घोषणा गरे । आफूहरुको जनविद्रोहले अब नेताहरुलाई प्रतिबन्ध लगाउने उनको ठोकुवा छ । उनले सुन आउने मुख नै केपी ओलीले व्यवसायी दीपक मल्होत्रालाई दिएको गम्भीर आरोप लगाए । बिहीवारको प्रदर्शनमा उल्लेख्य सहभागिता रहे पनि शनिवार उनको आन्दोलनमा सर्वसाधारणको उपस्थिति न्यून थियो । मधेशबाट आएका महिलाहरू कार्यक्रममा उपस्थित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर